जीवन एक गतिशिल यात्रा हो । गन्तव्य त्यति सुदुर पनि छैन जति हामी कल्पना गरिरहेका हुन्छौ । उकाली, ओराली, बिसाउनी अनि अनेक मोडहरुबाट गुज्रदा गुज्रदै अनिश्चतताको वरीपरी रहेर यात्रामा अघि बढिरहेका छन् यात्रीहरु । यात्राका दौरान नजिकिन्छन् मन मिल्नेहरु अनि ओझेलमा परि छाडिन्छन् मन बिझाउनेहरु । यात्रा नै त हो, कतिपय पलहरु मनलाई आह्लादित तुल्याउने हुन्छन् त कतिले हृदयलाई विह्लित तुल्याउदछन् । यहि सम्मिश्रणले त यात्रा एकतमासको चलेको छैन । जीवनको अनिश्चिततामा नै त जीवन जीउनुको रोमाञ्चकता छ ।
यात्रा सबैको आ–आफ्नै हुन्छ, बाटो प्रत्येकको भिन्नाभिन्नै हुन्छ । जोडिन्छन जरुर ती बाटाहरु; तर गन्तव्य एकै छैन। आइदिन्छन दोबाटाहरु, साघुरा गल्लीहरु जहाँ एक्लो भईनेछ । यात्रा आफ्नो हो, आफ्नै हिडाई हिड्नुपर्छ । कसैको गति अनि दिशाको नक्कल गर्दा दुर्घटनामा परिन सक्छ । आखिर सबैको जीवनयात्राका मोडहरु फरकफरक हुन्छ । जब आमाको कोखबाट जन्मिएर पहिलो क्रन्दन रोईन्छ, तब जीन्दगीको गीत सुरु भइसकेको हुन्छ । त्यसमा कस्तो लय, संगीत र शब्द भर्दै जाने हामीले छान्नुपर्ने हुन्छ ।
समयसिमा अनि गन्तव्यको् परीधिविहीन यस यात्रा वास्तवमै अनमोल पनि त छ । सृष्टिको सार यहि परीधिविहीनतामा निहित छ । गन्तव्य अनि समयसिमामा बाधिएर कुनै धावक दौडदा ऊ आफु जित्न होइन अरुलाई पछि पार्नका लागि दौडन्छ । तर कति करुणामय छ यो प्रकृति, जसले प्रत्येकलाई छुट्टाछुट्टै दिशामा अनिश्चित अनन्त समयको खजाना भिराएर विचरण गर्न पठाएको हुन्छ । यहाँ एकअर्कामा तुलना छैन । सबै आफैमा विशेष छन् । प्रत्येकको जित पक्का हुन्छ । तर कति नजानिकन् अनि कति यसलाई मनन नगरी लागिपरेकै छन् दौडमा नै। जीवनलाई गन्तव्यमा तौलेर त्यसको प्राप्तिको लागि कुद्दै छन् कति ।
तर जीवन त्यस यात्राभरकै समष्टिगत रुप मात्र न हो । गन्तव्यमा खुशी साचेर भन्दा यात्राभरकै पलमा रमाउन सिक्नुपर्छ । गन्तव्य जुन क्षणभब्गुर छ, त्यसमा खुशी साच्ने वा यात्रालाई खुशीपूर्ण ढङ्कले अघि बढाउने त्यसको चाबी आफैभित्र छ । एकपल्ट गन्तव्यको गाथालाई त्यागेर मनको दैलो खोतलौ अपरम्पार खुशी त्यहिँ छ ।
गीताको सारमा पनि बताइएको छ कि, परिवर्तन संसारको नियम हो । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो अनि पर्सि अकैैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर मग्न छौ । बस् यहि प्रशन्नता तिम्रो दुखको कारण हो । अतः भौतिकतालाई साध्यको रुपमा नसाचेर सार्थक जीवनको साधनामा जीवन व्यतित गर्नुपर्छ । विशाल ब्रमहांडको समयचक्रमा आफुले बिताउन गइरहेको जीवनअंशको सुक्ष्मतालाई मनन् गर्न सकियो भने काम, क्रोध, मोह, लोभ र अहङ्कारलाई छाडेर जीवनयात्राको महानतालाई पक्रन सकिनेछ ।
जीवनको सार्थकता अहङ्कारभन्दा निकै तल अनि अकर्मण्यताभन्दा धेरै नै माथि रहेको छ । त्यसलाई चिन्नका निम्ति भौतिकतालाई बिर्सेर आफैलाई चिन्नका निमित्त प्रयत्न गर्नुपर्छ । यदि हामी वर्तमानभन्दा फरक परिस्थिति चाहन्छौ भने आफ्नो जीवनयात्राको दिशालाई परिवर्तन गर्नुपर्छ । वर्तमान परिस्थितिभन्दा फरक कर्म गर्नुपर्छ । जीवनयात्राको गाडि हाम्रो शरीर हो, चालक रुपमा आफ्नो मनलाई मान्न सकिन्छ । गाडि अनि चालकको सामञ्जस्यपूर्ण सम्बन्धबाट मात्र सुमधुर यात्रा सम्भव हुन्छ । त्यसका लागी शारीरीक तन्दुरुस्ति र मानसिक स्फुर्ति बनाईराख्नुपर्दछ ।
गन्तव्यमा पुगेर त यात्रा समाप्त हुनेछ । हामीमध्ये कोही जीवनयात्राको सुरुमा, कोहि मध्यमा तथा कोहि अन्तिम अवस्थामा कल्पना गरिरहेका हुन्छौ । तर ती सत्य होइनन्, गन्तव्य जुन निश्चित भइसकेको हुन्न, त्यस अनिश्चितताको कारण प्रत्येक घडी हाम्रो जीवनयात्राको महत्वपूर्ण अंश बनिरहेको हुन्छ । प्रत्येक दिनको बिहानीसँगै यस कुरालाई मनन् गर्दै जीवनयात्रालाई सार्थकतातर्फ उन्मुख बनाउनु पर्दछ । अतः खुशिको उद्गमस्थल स्वयंको हृदय नै त हो, जीवनयात्रालाई रोमाञ्चक बनाउन त्यहि खुशिलाई पक्रन सक्नुपर्छ ।
0 Comments