किनाराहरु



अन्तहीन समय वेगमा बगिरहेको एक नदी 
केही परिवेशले नजिकिन पुगे एक र अर्का किनार 
दुरी फाटेसँगै प्रेमको पुलद्वारा जोडिने प्रयत्न 
प्रेमका अनेकौँ पद्धतिहरू मध्ये 
एक ले अपनाए आफूलाई अर्कामा मिसाएर हामी बन्ने बाटो 
तर एक हामीमा पोखिँदै जाँदा 
अर्काले प्रेम साट्नका लागि एकको आधार पाएन 
अनि अर्काले अर्कै किनारको फेर समाउन पुगे 
गल्तीविहीन नै रहे एक दोस्रो अनि अर्को किनारहरू 
हानि पुग्यो त्यो हामीलाई 

अनि उपजमा जन्मिए 

शुन्यमय एकतमासका स्निग्ध  छालहरू 

एक एक्लोपना 

दुई फरक कहानी 

केही थान गुनासो थिग्रिएसँगै 

भिन्न अनि अनन्त बाटोमा बढिरहे बेग लिँदै 

बेग्लै सुन्दर कथा बुन्दै


समयबहावमा नजिकिने ऊर्जाले फाटेको एक नदी 

जसको किनारलाई जोड्दैन पुल अनि दोभानले

अनन्त यात्रामा बग्दै बिलाउनेछन् समयसागरको गहिराईमा 

अनि प्रत्येक पानीका थोपा बाफ बनि 

ती बर्सिरहनेछन् पृथक नदी अनि किनारहरू बनाउँदै ।

Post a Comment

0 Comments