आशाको चिठी ।

 

यो विजय उत्सवका माहौलमा केही लेख्न मन लाग्यो।

क्षमा गर्नुहोस् मैले यसपालि कुनै राजनीतिक घोषणापत्र पढिन।जान्नेलाई छान्ने भन्दा पनि नजान्ने वा जान्ने टोपल्नेलाई हटाउने किसिमको परिस्थिति भएकाले यो अभूतपूर्व निर्वाचन नतिजाको सङ्घारमा हामी आइपुगेका छौँ 

मलाइ लाग्छ हामी नेपाली स्वभाव स्वभावैले अलि भावुक बढी छौँ।देशका लागि पनि ठुला सपनाहरू देखेका छौँ अब त कति धेरै पढेलेखेका, विज्ञता हासिल गरेका, जान्ने मान्छेहरू जनताबाट अनुमोदित भएर संसद्का रोष्टमसम्म पुग्दै हुनुहुन्छ। तर पनि राजनीतिक संस्कार, कूटनीति, वर्तमान विश्व परिस्थिति लगायत माटो सुहाउँदो विकासका कुराहरू निखार्दै जानुहोला । 

यथास्थितिको वरिपरि रुमल्लिने छुट पक्कै पनि यो निर्वाचनको नतिजाले दिएको छैन।यति धेरै मत भन्नु नै धेरै मतदाताले व्यक्त गरेको रास्वपाप्रतिको अवस्था परिवर्तनको आशा हो। 

देशले आशा मरेको अवस्था भोग्नु परेको थियो। संसद भवन अगाडि प्रेम आचार्य जल्दै गर्दा मौन बसेको संसद्ले मूल्य स्वरूप निर्दोष युवा अनि बालकका चित्कार सुन्दै रगतका आहालमाझ ती भित्ता ढल्न पुगे। निर्वाचनले नयाँ आसा बोकेको थियो। प्रत्येक निर्वाचित सांसदको अबको जिम्मेवारी हुनुपर्छ ती जागेका आशा मर्न नदिनु।  अब कुरा रह्यो पहिलेका आशा लाग्दा भनिएका नेताहरूले किन देशलाई यस्तो विकराल अवस्थितिसम्म आइपुगे भन्ने ।पहिलो कुरा उनीहरू आफ्ना मनोनीत सचिवालयका घेराबाट बाहिर उम्कनै सकेनन् ।एउटा नेताले पक्कै पनि सबैतिर देख्न सक्दैन। त्यसैले प्रत्येक चुनिएका सांसदले अनि सचेत नागरिकले बालेन, रवि वा जोसुकैलाई वास्तविक वस्तुस्थिति प्रष्ट रूपमा देखाइरहनु पर्दछ। दोस्रो कुरा विकास भइरहेकै छ भन्ने भाष्य निर्माण गर्न खोजियो। उदाहरणकै रूपमा अधिकांश नेपालीले खुसी मनले परदेशमा पसिना र उमेर साटिरहेका छन् अनि पुतली सडकमा चप्पल लगाएर हिँड्न पाउनु नै विकासको एक नमुना हो भन्नेसम्म भनियो।

यस्तो परिस्थितिबाट आशाको यात्रामा अघि बढ्दै गर्दा सिंहदरबार जलाइदिने उत्तेजनालाई पनि अब आगामी दिनमा तीनै ढलेका धरोहर ठड्याउँदै अनि आशा समेट्दै अघि बढ्ने शक्तिका रूपमा बदल्नु पर्छ।फेरि कसैले जनताका प्रश्न अनि गुनासा नसुनी काममा मात्रै व्यस्त भएको पनि सुन्न नपरोस्। प्रतिपक्षविहीन सांसदमा संसद्मा एक्लो नायक भई ‘देखाइदिने’ प्रवृत्ति को कसैप्रति अभ्यास नहोस्। प्रमाणहरू यति अकाट्य खोज्ने संयन्त्र बनाइयोस् कि अब भ्रष्टाचारका फाइल अघि बढ्दा, छानबिन आयोगका, निर्मला पन्तदेखि दरबार हत्याकाण्डसम्मका रहस्यहरू स्पष्ट रूपमा उजागर होउन्। यही शक्ति जनताले ती मतपेटिकामा भरेर पठाएका हुन्। नयाँ अनुहारहरू प्रवेश गर्दै हुनुहुन्छ पाँच वर्षपछि पुरानै प्रवृत्ति होइन नयाँ सुरुवातको थालनीकर्ताका रूपमा निस्कनुहोला। देश विकास गर्ने हुटहुटी, अठोट, अनि सृजनाशीलताका साथ संसद्मा पुग्दै हुनुहुन्छ अनेकौँ शुभकामना। 

नेपाल हाँसेको हेर्न चाहने 

एक नेपाली नागरिक

                                                                                                          

Post a Comment

0 Comments