म को हुँ? कहाँ छु? कहाँ के छ हाल?
लेखनाथ पौडेलले विचार गर्न भन्नुभएको यी प्रश्नहरुमा विचार गर्दा म को हुँ भन्ने कुरा मैले ठम्याउन सकेको छैन। म को हुँ भन्ने जान्नका लागि कविशिरोमणिले कवितामा त्यस्तो खास सङ्केत पनि त छाड्नुभएको छैन। म को हु भन्दा, भौतिक शरीर तथा आत्माको समष्टि मान्ने हो भने मेरो भौतिक शरीर यहाँ हुँदा, आत्मा अन्त कतै विचरित हुनसक्छ अनि यिनको हाल भिन्न भिन्न पनि हुन सक्यो। म निरुत्तर हुन्छु, उचित जवाफ फर्काउन असमर्थ अनि। म मेरो नाम होइन, नाम मिल्दा अन्य व्यक्तिहरू प्रशस्तै भेटिन सक्छन्। ती म हुन सक्दैनन्। म मेरो मुखाकृति तथा भौतिक शरीरको बनोट मात्र पनि पक्कै होइन। मुखाकृति परिवर्तन गर्ने प्रविधि तथा शारीरिक संरचनाका बनोट म व्यायाम तथा जीवनशैलीअनुसार परिवर्तन गर्न सक्दछु। फेरि समयसँगै मुखाकृति तथा शरीर त मेरो प्राकुतिक रुपमा नै परिवर्तनशील छन् भने के म पनि हरबखत परिवर्तन भइरहेको छु त? बच्चामा तथा युवावस्थामा चिनेका मेरा प्रियहरूले के दशकपछि मात्र प्रकट भएमा मेरो अस्तित्व तथा पहिचान ठम्याउन सक्लान्? यसो त के क्यामराले कैद गरिएका विगतका तस्बिरहरू नियाल्दा के म आफूलाई पाउन सक्दछु? आफ्नो सम्पूर्ण पहिचान बोकेको म तत्त्वसँग स्वयं अपरिचितझैँ छु।
के म आफ्ना उदाहरणीय तथा आदर्श व्यक्तिहरूको नक्कल गर्न खोजिरहँदा पूर्ण व्यवहार तथा आचरणहरू नक्कल गर्न दुरुस्त भइहालेमा म स्वयं रहन सक्दछु? वा एक ती व्यक्तिका म तत्त्व ग्रहण गर्न सकुलाँ कि एक प्रतिमाका रूपमा सीमित रहुँला?
म चिन्नका लागि आफूले के त्यति समय तथा प्रयत्न गरेको छु जति बाह्य चिजबिजमा लागिपरेको छु? समाज, आफन्त, साथीभाइ तथा परिवारका सामु पनि त म समय तथा परिस्थितिअनुसार बेग्लै पहिचान पस्किरहेको हुन्छु। मेरो बेन्चमा सँगै बस्ने साथी अनि अन्य सहपाठीहरूमा पनि त मेरो बेग्लै रूपमा पहिचान स्थापित गरेको हुन सक्दछ। मेरा आमाले महसुस गर्नुभएको मेरो पहिचान के छोराका रूपमा बुवाले चिन्नुभएको मेरो पहिचानमा सम्पूर्ण रुपमा मेल खालान्? यस्ता प्रश्नहरू कल्पँदा म गम खान्छु। सधैँ निरुत्तर नै रहन्छु।
मैले मलाइ पनि त बुझेको छैन। ती मेरा बाल्यावस्थाका चञ्चलताप्रति आज म कति निर्बाध तथा निश्चल थिए ती समयहरू भन्ने दृष्टिबाट नियाल्दै छु। किशोर बेलामा गरेका कति उट्पट्याङ तथा मस्तीमाथि आज म अतीतका स्मृतिका रूपमा लिन्छु। आजका बखतमा उस्तै परिवेशमा म के ती सबै कार्यहरूमा पुनर्विचार गर्ने थिइन होला र? के म तत्त्व यसरी नै परिवर्तित हुँदै जाने हुन्? प्रत्येक व्यक्तिको स्वयं स्थापित म तत्त्व हुन्छ। त्यस म तत्त्वको विवरण निकाल्ने विधि आजसम्म विज्ञानले खोज्न सकेको छैन। आफ्नो म तत्त्व चिन्न आफैलाई मुस्किल छ भनेआफूबाहिरका म तत्त्व पहिचान गर्ने विधि असम्भव प्राय देखिन्छ।
समस्त बितेका अतीतलाई म स्मृतिको चस्माको सहायताले मात्र त नियाल्न सक्दछु। स्मृतिमा ताजै छन् ती पल भनिएका क्षणहरूलाई पनि त वास्तवमा शब्द वा बोलीमा मात्र उतार्न समर्थ छु,। विगतमा आफूले घैलाभरिको पानी कलकल रित्याएको सम्झनाले मेरो वर्तमानको प्यासलाई मेट्न भन्दा बढाउनमा सहयोग गर्ला। म भनेको विगतका सम्झनाहरूको समष्टिका रूपमा
निर्क्याैल
गर्ने हो भने मानौँ मेरो केही घटनापश्चात् स्मृति नाश भएमा म तत्त्व हराएर जानेछ? मलाइ चिनिरहेका परिवार,समाज तथा साथीभाइले तथा मुख्य स्वयंले मेरो म तत्त्व कुन रूपमा पहिचान गर्नेछ? के त्यसपश्चात् स्मृतिविहीन म शून्यबाट म तत्त्व स्थापना गर्न अघि बढ्नु पर्नेछ?
जगत बाट समाधान खोज्ने प्रयत्न गर्दा धेरै म तत्त्वलाई नबुझी नक्कल तथा देखा सेखि गर्दै मपाईँ तथा आत्मरतिमा भुलेका छन्। के तीनले आफ्नो म तत्त्व बुझ्ने प्रयत्न गर्लान् भन्ने आशा राख्न सकिन्छ? आफू धन, सम्पत्ति तथा अन्य भौतिक वस्तुहरूमा नै लिप्त भएर आफ्नो म तत्त्वप्रति अनभिज्ञ रहि जीवन व्यतीत गरिरहेको हेक्का राखेको होलान् त?
म तत्त्वको उद्गम गर्भाशयबाट अनि अन्त्य मृत्युशय्या अन्तिम सास छाडैसँगै हुने हो? त्यसो त क्षणिक अचेत तथा बेहोसीका अवस्थाहरूमा म तत्त्व कुन रूपमा पुन जागृत हुन पुग्दछ? भौतिक शरीरसँगै म तत्त्व नाश भएर जाने हो अथवा आत्मा अमर रहन्छ न यसको आदि तथा अन्त्य छ भनिए अनुरूप म तत्त्व सदैव रहने हो निर्क्याैल गर्न कठिन छ। आत्माको रूप के हो? म मा समष्टि भएको चेतना तथा स्मृतिहरू जसमा म तत्त्वको निर्माण भएको छ, त्यो मेरो पहिचान के आत्मासँग सुरक्षित रहन सक्दछ होला मेमोरी कार्डमा डाटाहरू सदैव संरक्षित भएजस्तै।
समस्त विगतका लेखाइ तथा भोगाइहरू चियाउँदै यी हरफहरू लेख्दै गर्दाको म तत्त्व अनि यी
हरफहरू
पुनर्लेखन गर्दाको म भन्दा भोगाइमा परिवर्तन आइ छुट्टै म तत्त्व निर्माण भइरहेको हुनसक्छ भने तपाइ पाठकभित्र पनि त शीर्षक बाट पढ्दै यहाँसम्म पढिसक्नुहुँदा एउटा परिष्कृत म तत्त्व निर्माण गरिसक्नुभएको हुनसक्छ। जानकारी पाउ न है !!!

2 Comments
Damii bro
ReplyDeleteयो आलेख पढिरहदा आफू भित्रको म तत्वले अझै मलजल पायो । लेखको लागि भाईलाई धेरै धेरै धन्वाद ।
ReplyDelete