यी अनि यस्ता सम्बन्धित प्रश्नहरूमा उत्तर दिन यति सहज कहाँ छ र। विचार अनेकौँ छन् । जीवनका विविध पक्षहरूमा कसरी अघि बढ्ने सन्दर्भमा सम्भावित परिणामसमेतलाई ख्याल गरेर धेरै विचारहरू यस विचारको कारखाना दिमागमा भण्डारण भएका छन्। विचारको कमी भएको हैन तर स्पष्ट विचारमा आधारित मार्गचित्रको कमी भने पक्कै भएको छ। अनेकौँ विचारले दिमागमा डेरा जमाएका छन्। कति विचार निर्माण हुँदै अनि कति विचार परिपक्व तथा कति जीर्ण अवस्थामा छन्। तर तीनमा स्थायित्वको कमी छ। बाल अवस्थामा सबैभन्दा नामी अनि दामी बन्ने विचार बुनियो। युवा अवस्थामा विचारको दायरामा आर्थिक सामाजिक पारिवारिक व्यक्तिगत क्षमताले अलिकति तार जाली लगायो। त्यसपछिको अवस्थामा देश समाज अनि परिवारका खातिर योगदान दिने विचारहरू सलबलाए मगजमा। तर यथार्थताको धरातलमा उभिएर बिचारिँदा योगदान पुर्याउन पनि त शारीरिक मानसिक वा आर्थिक स्रोत चाहिने देखियो। विचार संसार बदल्ने राखियो। तर आफू यथास्थितिमा नै रहको भइन्छ। आफू नबदलिई कन सन्सार बदल्ने ऊर्जा चिन्न सकिदैन। अनि एक व्यक्ति वा समूह लागि परेर बदलिन सन्सार त्यति सहज सानो कहाँ छ र !!
प्रत्येक व्यक्तिमा बदलिने विचार अनि इच्छाशक्ति भर्न सके क्रमशः व्यक्ति, परिवार, अनि समाज राष्ट्र तथा विश्वमा परिवर्तनको बीउ अङ्कुरण हुँदै जाने हो। तर परहितका विचारहरू बिचरा अवस्थामा पुगेका छन् अनि सामूहिक विकासका विचार विचलित छन्। कतिले विचार व्यक्त त गर्दछन् तर व्यवहार त्यस अनुरूप भएको देखिँदैन। विचार र व्यवहार एकैनासको लिई अघि बढ्नेलाई पनि समाजको यथास्थितिवादले ढाकेको पाइन्छ।
दृढ विचारबाट सुरु भएका छन् कैयौँ परिवर्तन। विचारको आधारशिलामा बनेका छन् सुन्दर नगरीहरू अनि विचारकै आगोमा बलेका छन् धेरै सभ्यताहरू पनि। कस्ता विचारलाई मलजल गरेर अघि बढाउँदै लैजाने अनि कस्ता विचारलाई विचारकै अवस्थामा सुषुप्त छाड्नेमा मनन गर्नुपर्दछ एकदमै। विचार सुरुवातको बिन्दु हो। यसैमा डोरिएर अघि बढ्दै गइने हुँदा आफूले धारण गर्ने विचार छान्नमा हतारो अनि हेलचक्र्याइँ घातक बन्न सक्दछ। विचार ऐना पनि त हो व्यक्तिको। व्यक्तिले व्यक्त गर्ने व्यवहार उसको विचारमा आधारित हुन्छ। समाजमा कतिका मगजमा विकासशील अनि कतिमा विनाशशील विचारहरू होलान्। त्यस्ता विकासशील विचार बगैँचामा रहेका झारपात रुपी विनाशशील बिचार लाई गोडमेल गर्दै हटाउनु पर्दछ। अनेकौँ विचार सिद्धान्त अनि आस्थाका आधारमा संसार लाई विभाजित तुल्याइको छ अहिले। यसको कारण भनेको पराइका भोगाइ अनि आवश्यकतामा आधारित भएर उसको विचार निर्माण भएको हुन्छ अनि सबैका फरक विचारबिच सद्भाव तथा स्वीकार्यता विकाश गर्नु जरुरी बनेको छ। विविध विचारका विशिष्टताको समष्टिबाट विकाशको बाटोमा अघि बढ्नु उपयुक्त हुन्छ। विचारकै परिधिमा हामी रहने भएकाले आफ्ना विचारका स्रोत तथा सङ्गतमा अति विचारशील हुनु पर्दछ।
हालकै परिप्रेक्ष्यमा पनि स्थानीय चुनावको माहौलले देशलाइ छोपेको छ। विविध विचारका विकास सम्बन्धित नारा फैलाइएको छ अनि आश्वासन बाँडिएको छ। प्रत्येक मतदाताले भीडमा नलागेर स्वविवेकले विचार गर्नुपर्ने महत्त्वपूर्ण घडी एकदमै सामुन्ने उभिएको छ। यदि यस बखतमा हामीले विचार नपुर्याउने हो भने भावी पुस्ताले हाम्रो विवेक शक्तिमाथि प्रश्न गर्नेछन्। चेतनशीलताको उदाहरण प्रस्तुत गर्ने अनि भविष्यको जग हाल्ने मुहूर्तमा हामी उभिएका छौ। क्षणिक लाभ नभई हाम्रो आफ्नै भावी सन्ततिको तथा हाम्रा अग्रजलगायत हाम्रो समाज वातावरण तथा देशको महत्त्वपूर्ण ५ वर्षको भविष्य कसका हातमा सुम्पने भन्ने निर्णय गर्ने अधिकार प्रत्येक मतदातामा हातमा आएको छ।
सक्षम विचार र सदाचारी व्यवहार भएका
प्रतिनिधि चयन गर्ने कुरामा विचार
पुर्याऔ एकदमै। हाम्रो
एक मतदान उक्त मत प्राप्त गर्ने उम्मेदवार लाई हाम्रो सामूहिक भविष्यको निर्माण
गर्ने दिइने मन्जुरीनामा हो। बाकि तपाइको विचार है त !!
1 Comments
Nice
ReplyDelete