नझुक्किनुस् है !

अप्रिल फुल अर्थात् अप्रिल १ को यो दिनलाई झुक्क्याउने दिन मानी अरूलाई झुक्क्याउन विभिन्न उपायहरू लगाइन्छ। तर आजकाल संसारका बगैँचामा वसन्तका फुलहरू सिजनल अनि अप्रिलका फुलहरू सदाबहार ढकमक्क फुलेका हुन्छन् । संसार, घर, परिवार, समाज, साथीभाइ लगायत हरेक कोहीलाई कुनै न कुनै दिन झुक्क्याइएकै त हुन्छ। झुक्क्याउनु अर्थात भ्रम पैदा गराउनु त्यति गार्ह्राे काम पनि त रहेन आजकल। मानिस आफैलाई समेत झुक्क्याएर बाँच्न जानिरहेको हुन्छ भने अरू कसैलाई झुक्क्याउने सन्दर्भमा अप्रिल १ नै कुरिरहनुपर्ने केही आवश्यकता नै रहेन। बरु कुनै एक दिन साँचो मात्र बोल्नुपर्ने अथवा कसैलाई झुक्क्याउन नपाइने पर्व मनाऔँ। कति रोमाञ्चक वा सकसपूर्ण रहला अहिलेको परिवेशमा यो पर्व।

झुक्क्याउने सन्दर्भमा नै भन्नुपर्दा म बिहानै उठ्नु अगावै मेरो मोबाइलमा बजेको अलार्मलाई झुक्क्याउछु। विस्तराबाट उठ्नेछु भनेर राखिएको अलार्म त म सपनामै बन्द गर्न सिपालु छु। अनि अलार्म निभेको एक निद्रापछि म बल्दछु। ए हैन पो बलजफ्ति उठ्दछु पो त। आखिर खैर त्यो तन्द्राकै अवस्थामा पनि म झुक्क्याउनु आफ्नो शरीर लाई जसलाई कसरत व्यायामको सट्टामा म दिन्छु  सर्वप्रथम त गह्रौँ ब्रेकफास्ट पचाउने आदेश। अनि शारीरिक पक्षलाई झुक्क्याएपछि लाग्छु म मेरो मानसिक पक्षलाई चकमा दिन। म आश्वासन बाँड्दछु दिमागलाई लौ त अब म बौद्धिक खुराकहरू पस्किनेछु भनेर अनि खोल्दछु मेरो मुख अगाडि किताबका पानाहरू सररर। ए हैन मुखकिताब सललल पो हो त। म पढ्दछु कति सबटाइटलहरू, लिरिक्सहरू अनि सहभागी हुन्छु ती चाखलाग्दा बहसहरूमा मेरा औँठाछापहरु लगाउँदै वा लिखित प्रतिक्रियाको कमेन्ट टिपाएर। यी कुराहरूपश्चात् पनि झुक्क्याउने खेल कहाँ सकिन्छ र। म आफ्ना कर्तव्यलाई झुक्क्याउनु फलानो व्यक्ति वा विषयले गरेर पो त मेरो कर्तव्यपरायणतामा अलिकति पूर्णता बाकी रहेको भनेर। झुक्क्याउने यो नाटकको पात्रका कलाकारहरू म मात्रै होइन। हामीले यति सजीव रूपमा बाँचेका छौ ती झुक्क्याउने पात्रको जीवन कि हामी सबै हरबखत आफ्नो अभिनयमा पोख्त हुँदै जादैछौँ। हाम्रो अभिनय नियालिरहेको समय नै झुक्किन्छ कि नाटक कति बेला सकाएर हामी वास्तविकतामा उत्रनेछौ भन्ने कुरा।

हामीले नेताहरू खराब पायौ, यिनले देश बनाएनन्, देश बेहाल पार्न लागे भनेर फेरी झुक्क्याउछौ कति पटक हामी आफूलाई। नेताले आखिर नेतृत्व गर्ने पनि त समान विचार र आचार बोकेको समूहलाई नै त हो। नेताहरूलाई पनि त लाग्दो हो कि जनता, कर्मचारी, सहयात्रीहरूले साह्रै झुक्क्याए, देश बनाउन केही साथ, समर्थन, सद्भाव अनि हौसला नै पो दिएनन् भन्ने। अत यस झुक्क्याउने खेलका खेलाडिहरू हामी सम्पूर्ण यसका सामुहिक विजेता नै हाैँ। यदि तपाइलाइ लाग्दैन भने पनि झुक्क्याइदिनुस् हाै भनेर। आखिर यो जगत् नै मिथ्या हो सत् भनेकै हाम्रा भगवान् मात्र हुन भनेर मानव जातिलाई झुक्क्याउने देखि पृथ्वीमा बसेर पृथ्वीमात्र मानवको घर हुन सक्दैन अन्यत्र बसाइ सरौँ भन्दै पृथ्वीका समस्याहरूमा नजरअन्दाज गरी पृथ्वीलाई झुक्क्याउन हामी सबै निपूर्ण छाै। सम्पूर्णमा यो झुक्क्याउने दिनको अपार शुभकामना ।

Post a Comment

0 Comments