केही समय भयो मेरो मृत्युको डरको अवसान भएको ।म प्राय मृत्युको झझल्को बुढ्यौली अनुहारहरूमा पाउने गर्थे।तर केही समय भयो म बुढ्यौली कुरिरहेछु। म पहिले सोच्ने गर्दथे मृत्युका नजिक पुगिरहेका छन् उमेर ढल्दै गएका ती मानिसहरू।लाग्दथ्यो पक्कै पनि ढल्कँदो उमेरमा मानिस त्रासदीमा बाँच्दा हुन। म बुढ्यौली उमेरका मानिसप्रति बढी सहानुभूतिपूर्ण भाव आउँथ्यो। लाग्दथ्यो बुढ्यौली मृत्युको आगमनको सङ्केत हो।तर अहिले मलाई लाग्दछ जति मानिस बुढो भयो उसले त्यति नै जीवन जियो। आखिर म त्यस उमेरमा पुग्न अझै मेरो अहिलेसम्मको एक अथवा दुइ तीनवटा जीवन बाँच्नु पर्दछ। अनि सबै जिजीविषा भोगेकाहरूप्रति म भित्र सम्मान तथा आदर भरिँदै आयो। आजकल लाग्दछ कि फुलेका कपालका सेता रङहरूले त्यस व्यक्तिले बिताएका रङ्गिन समयहरू दर्साउँछन्। अनि अर्को कुरा यो कि बुढ्यौली त अनुभवहरूको एक भण्डार हो। एउटा जीवित संग्राहलय हो। बुढ्यौली यस्तो समय जहाँ यात्रा भरिपूर्णतातिर लम्किरहेको हुन्छ। मलाइ लाग्दछ बुढ्यौली बखतमा जीवनका तमाम इच्छा आकाङ्क्षा अनि प्राप्तिहरूपछि प्राप्त गर्न बाँकी भनेको रहनेछ केवल मृत्यु मात्र अनि मृत्युको म डर होइन स्वागतमा उभिनेछु किनकि मृत्यु नै पूर्णता भन्ने बुझेपछि अन्त्यमा प्रवेश गर्न कुनै डर बाँकी रहने छैन।
किन डराउनुहुन्छ तपाईँ बुढ्यौलीसँग शारीरिक दुर्बलतासँग वा यस रमणीय संसार आफन्त परिवार सन्तान अनि सबैभन्दा महत्त्वपूर्ण आफैलाई सदाका लागि छाडने बेला हुनाले वा मृत्युको भयले तर एकपल्ट यसरी सोच्नुहोस् न जब तपाईँ शारीरिक कमजोरीसँग पौँठेजोरी खेल्दै हुनुहुनेछ आफ्ना युवा जोस तथा महत्त्वपूर्ण दिनहरूका सुनौला अनुभव पनि हुनेछ र तपाईँले पार लगाइसक्नु भएको हुनेछ जीवनका कति नमिठा पलहरु पनि । यदि तपाईँलाई सबैभन्दा ठुलो डर मृत्युको हो भने मृत्यु त त्यसै दिन निश्चित थियो जब तपाईँले जन्म लिनुभयो। सम्झनुहोस् त। त्यो दिन तपाईँ कति खुसी हुनुभएको थियो जब तपाईँ यस सुन्दर संसारमा जन्मन पाउनुभयो।तपाईँ जन्मेको पल दिन हप्ता महिना वा वर्ष तपाईँलाई केही याद छैन ? तपाइको मृत्यु पनि यही सरल अनि सौहार्दपूर्ण प्रक्रिया हो। तपाइमा मृत्यु घटित हुद्दापछिको केही सम्झना रहनेछैन। तपाइको जन्म मिति अनि मृत्यु मिति दुवै अर्काले हिसाब राख्ने हुन्।कति सरल रूपमै मृत्यु उतारेका छन् यही गम्भीरता जान्नेहरूले बाचुन्जेल मरिँदैन।
मलाई पनि गज्जबको त्रासदीले ढाक्दथ्यो जब म मृत्युका विषयमा सोच्ने गर्दथे। तर जब मैले सिके कि हामी प्रत्येक हिजोमा मरिसकेका छौँ अनि हाम्रा बितिसकेका पलहरू हामीले एक हिसाबले मरिसकेको समय हो मृत्युको भयको भयानकता भुर्र उड्यो । के तपाईँ डराउनुहुन्छ एउटा वाक्य लेख्दा अन्तिममा पूर्णविराम अथवा फुल स्टप राख्नका निम्ति ? जीवन त्यही वाक्य नै हो र मृत्यु त्यही पूर्ण विराम समान छ। पूर्णविराम विनाको एउटा वाक्य कति अपूर्ण हुनेछ। के तपाईँको डर यस समाज परिवार आफन्त सन्तान र स्वयंलाई सदाका गुमाउनुमा रहेको छ? यदि त्यसो हो भने तपाईँले पूर्ण रूपमा ती सम्बन्ध वा स्वयंप्रति आफूले गर्न सक्ने आफूले दिन सक्ने योगदान वा माया दिनुभएन भन्ने हो। यस्तो सन्दर्भमा तपाईँले वास्तविक रूपमा डर मानिरहनु भएको चिज मृत्यु होइन आफूले बाँचेको अपूर्ण जीवन हो। पूर्णतामा कुनै पनि डर बाँकी रहँदैन। तपाईँसँग अझै अपूर्ण इच्छाहरू छन् जसलाई तपाईँले बाँच्नुभएको छैन। यदि यसो हो भने यस नबाँचेको जीवनको माया अपार रूपमा हृदयमा रहनेछन्। तर यसले हटाउनेछ शान्ति सन्तोष अनि भय रहितता । अतः प्रत्येक दिन खुलेर बाँच्नुस्। मुस्कुराइरहनुस्। पूर्ण जीवन भन्नु नै प्रत्येक सन्तोषपूर्ण दिनहरूको समष्टि हो। ।तपाईँले सक्ने जतिको पूर्ण जीवन बाँच्नुभयो भने मृत्युको डर नै किन।
मलाई लाग्दछ हामीलाई गलत सिकाइयो कि जीवनको विपरीत विपरीतार्थी शब्द मृत्यु हो। जीवनको विपरीतार्थी शब्द अपूर्ण जीवन जिउनु हो। मृत्यु त जीवनको समष्टि हो ।अर्को मृत्युका सम्बन्धमा मेरो आफ्नै सबैभन्दा त्रासदीपूर्ण क्षण भनेको मेरो मृत्यु पछाडिका संसारको गतिशीलता अनि आफू चाहिँ शून्यमा विलीन हुनुपर्दाको कल्पना थियो। अहिले पनि म कहिलेकाहीँ म कल्पना गर्छु मानौँ म नरहेपछि पनि त संसार क्रम चलिनै रहनेछ।बस म कतै कहिल्यै हुने छैन।यस भावनाले म मा निरशता अनि जिउनुप्रति नै व्यर्थताको भावले भर्दथ्यो। अनि मैले यस भावनालाई यसरी पार लगाए की मेरो अस्तित्व अहिले नै पनि त यस संसारको बृहततामा विलीन नै छ। म जन्मनु हुर्कनु र मृत्यु मा समाहित हुनुले यस संसार क्रमलाई एक रत्ती पनि फरक पारेको छैन अनि पर्ने छैन। यस्तो समय पनि आउला मानौँ पृथ्वीको नै आयु सकिएर जाला। वैज्ञानिक रूपमै पनि सूर्यमा निहित तेजको पनि आयु छ अनि फेरि यो पनि त प्रमाणित नै कुरा हो कि वर्षौँ अगाडि मानिसको अस्तित्व नै थिएन। यस विशाल समय खण्डमा जीवनको निम्ति उर्वर समयमा जन्म लिएर आफैमा असन्तोष पूर्ण जीवन बाँच्नुजस्तो भयानक मृत्यु कदापि हुन सक्दैन।
जीवनलाई पूर्ण रूपमा अङ्गाल्नेहरूप्रति मृत्युको डर हुनु भनेको वर्षभरि कक्षामा रहेर अन्तिम परीक्षासँग तर्सिनु सरह नै हो वर्षभरिको मेहनत पढाइ लगनको अन्तिम गन्तव्य परीक्षा दिएर कक्षाको अन्त्य गर्नु नै हो। अथवा मानौँ कि एक खेलाडीले सिजनभरि विभिन्न खेलहरू खेलेर अगाडि बढ्दै अन्तिममा फाइनल खेलसँग डराए समान हो। एक कुशल खेलाडी उनै हो जसले नतिजा जेसुकै होस् तर निडर रूपमा फाइनलमा सहभागी भएर त्यस प्रतियोगितालाई अन्त्य गर्न तत्पर रहन्छ।तर यी परीक्षाको नतिजा फल वा खेलको अन्तिम स्कोर भने बाँच्दासम्म पाइँदैन।
म सन्तुष्ट छु आजसम्मको मेरो जीवनप्रति।पक्कै मेरा कमजोरीहरू पनि छन् तर ती मेरा असन्तुष्टिको कारण बनिसकेका छैनन् किनकि मलाइ विश्वास छ म प्रयत्नरत रहनेछु तिनको सुधारको निमित्त। बितेका जीवनका असन्तुष्टिका रङ्गहरूले आजका अनि आगामी दिनका चित्र कोर्नु जीवनलाई अपूर्णतातिर धकेल्नु नै हो। त्यसैले अहिलेको पलमा जे सम्भव छ त्यसलाई पूर्ण रूपमा अनुभव गरौँ।आज के पूर्ण रूपमा गर्न सकिन्छ अघि बढेमा त्यही कुराहरू गर्दै जीवन पूर्णतातिर लम्कनेछ ।जीवनका उल्लासमा भुलौँ।श्वास नरहनुको मृत्यु भन्दा पूर्णतातिर नबढेको जीवन भयानक हो ख्याल राख्दै बाँचिरहौँ।

1 Comments
😇
ReplyDelete