अशीर्षक

 यो कथाको शीर्षक के राख्ने, मलाई अझै थाहा छैन। शायद केही कथाहरु शीर्षकभन्दा माथि हुन्छन्। तर शीर्षक नपाए पनि, यो सम्झनाले जीवनभर मेरो मनको कुनै न्यानो कुनामा बास बसिरहन्छ ) मीठो, अपूर्ण, र पूरै मेरो आफ्नै। नेपाली शब्दकोशका शब्दहरूले यसलाई पूरा वर्णन गर्न सक्दैनन्, तैपनि आज म कोर्ने आँट गर्दैछु।

त्यो २०७६ साल थियो: भन्नुपर्दा, कोरोनाको वर्ष। म स्नातक तेस्रो वर्षमा पढ्ने, होस्टेलमै बसेर पढाइमा हराउने एउटा विद्यार्थी थिएँ। परीक्षा नजिकिँदै थियो, र त्यस वर्षको परीक्षातालिका महामारीले सबै उथलपुथल पारिदियो। पहिले हाम्रो परीक्षा आफ्नै क्याम्पसमा हुन्थ्यो; अब भनियो कि जो जहाँ छ, नजिकैको कृषि क्याम्पसबाट परीक्षा दिन सकिन्छ। म लमजुङ क्याम्पसमा थिएँ। अढाई वर्ष पढेको त्यही ठाउँ नै मेरो नजिकको परीक्षास्थल थियो। तर अगाडि एउटा नयाँ सम्भावना खुल्यो: चितवनमा रहेको रामपुर कृषि क्याम्पस। त्यहाँ ठूलोबुवाको परिवार थियो, र परीक्षास्थल घरबाट बाइकमा बल्ल पन्ध्र मिनेटको दूरीमा। भर्खरै लाइसेन्स लिएको थिएँ; बाइक चढेर परीक्षा दिन जाने अनि परिक्षा सकिएपलछि मजाले चितवनमै घुमेर रमाउन मिल्ने रहरले मलाई डोहोर्यायो। घरमा होस्टेलको वातावरण त्यति सुरक्षित छैन भनेर सम्झाएँ, र मैले आफ्नो पायक परिक्षास्थल छाडेर लागे घुमफिर समेत गर्न पाइने चितवनतर्फ लागेँ।

साउन–भदौको महिना थियो जस्तो लाग्छ। गाडी चढेको एक घण्टापछि, मुग्लिङ नपुग्दै हाम्रो बस जाममा रोकियो। जम्मा तीन घण्टाको यात्रामा एक घण्टा त्यहीँ बित्यो। दिनको तीन बजेतिर जाम खुल्यो, र बस चितवनका समथर फाँटतर्फ हुइँकिन थाल्यो।बस लगभग खाली थियो। पछिल्ला सिटहरू रित्तै थिए; अगाडि कतै एक–एक जना यात्रु थिए। चितवन पसेको केही बेरमा बस दुई यात्रुका लागि रोकियो। तीमध्ये एक थिइन् मेरै उमेरकी एक यात्री, आफ्नी हजुरआमासँग।

हजुरआमा वृद्ध हुनुहुन्थ्यो। पछाडिसम्म जान नचाहेर, उहाँ अगाडिको एउटा खाली सिटमा, एक महिलाको छेउमा बस्नुभयो। म भने उनकी नातिनीलाई नहेरीकनै उनी कता बस्दिहोलिन् भन्ने अनुमानमा थिएँ। हजुरआमाको छेउ र वरिपरि सिट खाली नै थिए। तर उनका आँखा डुल्दै मेरो सिटमा आएर अडिए। उनी सेतो नभनौँ, स्निग्ध सेतो कुर्ता–सुरुवालमा थिइन्। कुर्ता उनको शरीरमा यसरी मिलेको थियो, मानौँ कुर्ताको आविष्कार नै उनको शरीरमा सजिनका लागि भएको होस्। उनी बिस्तारै मेरै सिटतर्फ पाइला बढाउँदै आइन्। मेरो मुटुको चाल हवाईजहाजको बेगमा कुद्न थाल्यो। बाहिर, म केही नभएझैँ बसिरहेँ।

मतर्फ बढिरहेको त्यो मीठो बतास मेरो अगाडि आएर टक्क अडियो।उनीले सोधिन् "के यहाँ बस्न सक्छु?" लाग्यो, मेरो कानमा जीवनकै सबैभन्दा सुमधुर धुन बज्यो। कहिल्यै मन लगाएर गितसम्म नसुन्ने मान्छे म; तर उनको त्यो एउटा वाक्य मेरा लागि त्यससम्मकै मीठो संगीत बन्यो। त्यस बखत म आफ्नो सर्वस्व समर्पण गर्न सक्थेँ। तर केही बोल्न सकिनँ, भैहाल्छ नी भन्ने भावमा मुन्टो मात्र हल्लाएँ। मेरा हातमा भने सिरिङ्ग काँडा उम्रन थाले।

सबैभन्दा मुख्य कुरा म झ्यालपट्टिको सिटमा नबसी, त्यो सिट खाली छाडेर बसेको थिएँ। जाममा रोकिँदा मेरोपट्टिको झ्यालबाट बाहिर चट्टानको भित्ताबाहेक केही देखिँदैनथ्यो; खोलापट्टिको खुलापन भने बीचको सिटबाट अलि नजिक पर्थ्यो। त्यसैले म त्यतापट्टि सरेर, झ्यालको सिट रित्तै राख्न पुगेको रहेछु।

मनमनै मैले जामलाई धन्यवाद दिएँ। अनि उनकी हजुरआमालाई जो अगाडि नै बस्दिनुभयो, र नातिनी पछाडिसम्म नगई मेरै छेउको झ्यालको सिट रोज्न पुगिन्। उनले त यात्राभरिको लागि सिट रोजेकी थिइन्। मैले भने जिन्दगीभरको यात्राका लागि उनको सामीप्य कल्पन थालेको थिएँ।

"तपाईंले झ्यालपट्टिको सिट खाली राख्नुभएको रहेछ। म त्यही खोजिरहेको थिएँ । धन्यवाद है !" उनले भनिन्। उनी मगमगाइरहेकी थिइन्। म जाम काटेर आएको पसिनामा डुबेको; उनी भने सुवासमा डुबेकी थिइन्। यात्रुहरूमध्ये उनको सामीप्य र सुवासको सबैभन्दा नजिक म मात्र थिएँ। उनले मामाघरबाट फर्किँदै गरेको, हजुरआमालाई पनि सँगै लिएर आएको कुरा सुनाइन्। म केही भन्नै सकिनँ। म त्यस अवस्थाका लागि केही तयार नै थिइनँ। मेरो अन्तरिक्षभन्दा बाहिरको एक परीजस्ती उनी मसँग उत्सुकतापूर्वक कुरा गर्दै थिइन्, र अन्तर्मुखी म उनको हरेक कुरामा टाउको हल्लाउँदै समर्थन मात्र जनाउँदै थिएँ।

गाडी हुइँकिँदै गयो। उनी कानमा इयरफोन लगाएर कुनै गीत सुन्दै थिइन्। म झ्यालबाहिर हेर्ने बहाना बनाएर उनको एक झल्को कैद गर्न खोज्थेँ, तर सक्दिनथेँ। म पूर्ण रूपमा सचेत थिएँ, उनलाई कुनै असहजता नहोस् भन्नेमा। केही बेरमा गाडी खाना खान रोकियो।जाममा थाकेपछि मेरो ओर्लने कुनै सोच थिएन र म गाडिमा नै बसिरहे। उनी हजुरआमासँग ओर्लन खोजिन्; म सिटबाट निस्केर उनको बाटो छाडिदिएँ। उनी ओर्लिइन्, तर उनको झल्को मेरो दिमागबाट ओर्लिरहेकै थिएन। 

केही बेरमा उनी हजुरआमालाई अगाडि लगाएर बिस्तारै गाडीमा चढिन्।

"तपाईं त केही लिन ओर्लनुभएन नि?" उनैले फेरि सोधिन्।

"होइन, अब झर्ने ठाउँ नजिकै आइसकियो नि " मैले उत्तर फर्काएँ। ओर्लंदा उनले पर्समा दुइटा फ्रुटी सँगै लिएर आएकी रहिछन्। एउटा मतर्फ दिँदै भनिन् "यो लिनुस् न।" मनमा कति कुरा खेल्न पुगे। मैले भनेँ  "होइन, धन्यवाद, तर अहिले नखाऊँ होला।"

उनले फेरि भनिन् "यहाँ गर्मी पनि छ; अनि यो फ्रुटी त मैले तपाईंकै लागि भनेर किनेको हुँ नि झन्!"एउटै मनलाई उनले केही सेकेन्डमै असंख्य पटक जितिन्। त्यसपछि नाइँ भन्ने आँट गर्न सकिनँ, र उनको हातबाट त्यो फ्रुटी लिएँ। हामी सँगै त्यो तातो हावालाई मत्थर बनाउँदै चिसो फ्रुटी पिइरहेका थियौँ। मुख्य कुरा त उनले मेरै लागि भनेर सोचेर एउटा फ्रुटी किनेकी थिइन्, र हामीले सँगै त्यो पिएका थियौँ। फ्रुटीको खोल मैले झोलाको छेउमा सम्हालेर राखेँ। त्यो उनले मेरा लागि किनेको पहिलो चीज थियो।

गाडी बिस्तारै अगाडि बढ्दै थियो। केही सिट अगाडिबाट "बाबु" भन्दै उनको हजुरआमाले मतर्फ इसारा गर्नुभयो, अनि केही नबोली मतर्फ मुठीभरिको चकलेट उनलाइ दिनु न भन्ने भावसहित तेर्स्याउनुभयो। "पर्दैन, आमा," भन्दै उनी लाज मानेझैँ भइन्। उनको मुहारमा त्यो हल्का लाज हिमालमा सूर्यको प्रकाश टल्किएझैँ सुहाएको थियो। उनको त्यो अवस्थालाई सहज पार्न, मैले चकलेटहरू उनको हजुरआमाबाट उनीसम्म पुर्‍याउन हात अगाडि बढाएँ। यत्तिकैमा गाडी कतै मोडियो।

अनि ती चकलेटमध्ये केही मेरो हातबाट खस्न पुगे। उनको र मेरो खुट्टा हुने ठाउँमा दुई–तीन ओटा चकलेट रहन पुगे।मानिसहरू मायाका लागि समुन्द्रको गहिराइबाट मोती खोज्ने कुरा गर्छन्; यहाँ म उनका लागि भुइँबाट चकलेट टिप्दै थिएँ। उनीबाट नजर लुकाएको यो क्षणमा म केही मुस्कुराए।

उनले बिस्तारै आफ्ना खुट्टा मिलाइदिइन्, र मैले तुरुन्तै तीन ओटा चकलेट टिपेर बाँकी चकलेटसँगै उनको हातमा सुम्पिदिएँ। उनले आफ्नो सलले चकलेटमा लागेको धूलो पुछिन्, अनि नखसेका दुई ओटा चकलेट "यो तपाईंको लागि" भन्दै अगाडि सारिन्। मैले भनेँ  "अनि खसेका चाहिँ आफूलाई मात्र ? मलाइ माफ गरिदिनुस् है खसालेकोमा।"  उनले मुस्कुराउँदै "त्यसो भए यो पनि लिनुस् न त" भन्दै अर्को एउटा चकलेट थपिदिइन्।

मैले त्यो अन्तिम चकलेट खोलेर खाएँ; उनले पनि एउटा खाइन्। मुखमा चकलेट भएपछि बोल्न झन् अप्ठ्यारो भयो। केही नबोलेपछि उनी फेरि आफ्नै धुनमा आँखा चिम्लिएर गीत सुन्न थालिन्।केहिबेरमा उनको हजुरआमाले भाडा तिरीदिर्दै गर्दा मैले उनको झर्ने गन्तव्य पनि थाहा पाएँ। उनी झर्ने ठाउँभन्दा केहि अघिसम्म पुगि फर्केर गाडि म झर्ने ठाउँमा पुग्दथ्यो। मैले त पहिल्यै भाडा तिरिसकेको थिएँ, त्यसैले सहचालक हाम्रो सिटतर्फ ध्यान नदिई पछाडि लागे।

केही बेरमा उनको झर्ने ठाउँ आइपुग्यो। उनी हजुरआमा र केही कोसेलीको झोला लिएर गाडीबाट ओर्लिइन्। उनको घरको आँगनमै, शायद उनको मम्मी–बुवा र भाइबहिनी उनी र हजुरआमालाई नै कुर्दै बसिरहेका देखिन्थे। मैले उनीतर्फ नजर दौडाइरहेँ, तर उनले फर्केर हेरिनन्।उनको ठेगाना कैद गर्न मैले उनको घर अगाडिको सटरमा लेखिएको स्टेसनरीको नाम दिमागमा टिपिहालेँ।

त्यो बस अलि पर पुगेर, फेरि उनकै घरको बाटोबाट फर्किँदै  भित्री सडकतर्फ लाग्नेवाला थियो। गाडी फर्कन लाग्दा, मैले उनको घरपट्टि नै पर्नका लागि आफू बसेको सिटको छेउ छाडेर अर्कोपट्टिको झ्यालको सिट समातेँ। पीपलको रूखसँगै उनको घर रहेको कुरा दिमागमा राखिसकेको थिएँ। त्यसैले जब बिस्तारै बस त्यो पीपलको छेउसम्म पुग्न लाग्यो, मेरो मुटु बसभन्दा अगाडि–अगाडि कुद्न थाल्यो।

मैले झ्याल खोलेँ, र उनी झरेको घरको आँगनतर्फ आँखा डुलाएँ।दृश्य यस्तो थियो: उनलाई कुरिरहेका बहिनी, भाइ, र उनी बसतर्फ नै हेरिरहेका थिए। उनको घरपट्टि पर्ने झ्यालको सिटबाट बाहिर हेर्दा उनका भाइ र बहिनी उनलाई जिस्क्याइरहेको हाँसो हाँसिरहेका थिए जुन आवाजमा सुनिन्थ्यो र उनको त्यो चिरपरिचित मुस्कानको आभा त्यो गोधूलि साँझको अध्यारो चिर्दै  मधुर  रूपमा मसम्म आएरहेको थियो: ठ्याक्कै त्यस्तै मुस्कान जुन एक अपरिचितका अगाडि हजुरआमाले सानी बच्चालाई झैँ मुठीभरि चकलेट दिँदा उनको मुहारमा झुल्किएको थियो।

अझै सुरक्षित छन् मसँग ती बाँकी दुई चकलेट, र मनमा त्यो झ्यालपट्टिको सिटका अनगिन्ती सम्झनाहरु ;बिर्सिएँ त केवल  उनको घरको बर्दलीमा लेखिएको स्टेसनरी पसलको नाम, र त्यसमा कुँदिएको टेलिफोन नम्बर।

x

x

Post a Comment

1 Comments

  1. 💝
    When you already know what's going to happen, but you just want to spend a little more time before it actually ends..,!!
    An unspoken language 🧿🌸

    ReplyDelete