यात्रा

संसार यो बदल्नुछ,
विश्वको मुहार यो फेर्नुछ
लौ निस्के है त म यात्री
मेरा यी कलमधारका सहायताले
विश्वमानवलाई महिमा मानवताको चिनाउनुछ ।

पाईला पहिलो सारे,
देख्दछु जताँ तता डोबैडोब
संसार बदल्ने यात्रा सुरु भइसकेछ ।
साम्राज्य, युद्धका डोब, सेनाका अस्थिपञ्जर सर्वत्र
योगदान यत्रो यो, मेरो यात्रालाई गइसकेछ ।।

हैन हुदैनथ्यो त्यसरी,
संसार बदलिदैन यसो गरी
थाल्नेछु म बिल्कुल नयाँ एउटा सुरुवात,
समविश्व नै सिर्जना गर्न सकिए क्यै गरी
विचार फुर्दछ मगजमा फ्याट्ट ।।

हुदैन त्यस्तो पनि,
सुरुवात शून्यबाट पो हुन्छ,
यहाँ आखिर अर्बौ, खर्बौलाई बदल्नुछ ।
चेतना फैलाइ सयौं भाषामा त्यैपनि
मरुभूमितुल्य यो भूमीमा मानवताबीज उमार्नुछ ।।

सकिन्छ होला र?
मैले वा अर्कैले, थपिन्छन थप दुविधा
तुच्छ एक यात्री म, निरीह आखिर ।
देख्तछु अन्धकारमय आगत आफ्नै अघि,
सारा जगतलाई ज्यातिर्मय गर्न सकिएला?
खै के भर ।।

इतिश्री ।
छाडिदिए लौ,
त्यागिदिए त्यो गन्तब्य पनि
संसार बदल्न अव निस्कन्न बाहिर
तर
  यात्रा मरेको छैन, उर्जा यो जलिरहेकै छ ।
मोडिएको मात्र हो यो आफैभित्र,
बदल्नु छदैछ, क्रान्ति गर्नेछु मै भित्रको
विचारब्रम्हाको संसार ।
यो यात्रा चलिरहेकै छ ...........

Post a Comment

0 Comments