यो कलियुग रैछ


संसार साथी यस्तै रैछ
ओभानु पानी माथि नै रैछ
बाँच्न खानेलाई नपुग्दो रैछ
खान बाँच्नेलाई नरुच्दो रैछ
संसार साथी यस्तै रैछ।।

आफू अघि बढ्नु नपर्ने
अरुलाई पछि पार्नु रैछ
आफ्नै महिमा गाउनु रैछ
मपाइत्व जमाउनु रैछ
इमानदारीता, चरित्र धरौटि राखी
आफ्नै दुनो सोझ्याउनु रैछ ।।

राम्रा जति आफुलाई मात्र
बाकि रहेमा चढाउनु रैछ
मनको मैलो कसले देखोस्
भौतिकतामा नै रमाउनु रेैछ
मनको आवाजलाई नसूनिकन
बुद्धिको वासुरी बजाउनु रैछ।।

युद्धको चित्कार कर्णप्रिय रैछ
बुद्धको सन्देश जीर्णप्राय रैछ
जसको शक्ति उसैको भक्ति,
क्षमता, सामर्थ्य गौण रैछ
चाप्लुसी, अवसरवाद प्राण रैछ ।।

आत्मसन्तोष यहाँ पलायनवाद रैछ
उत्पीडितको पसिनाको बडो स्वाद रैछ
नैतिकता त अचम्मै खल्लो रैछ
बेइमानी पो आस्वादनयुक्त मिठाइको डल्लो रैछ।।

कर्तव्यनिष्ठको झुपडिको बास रैछ
कपटिकै गगनचुम्बी निवास रैछ
यो दुनिया बिछट्टै अचम्मै रैछ
संसार साथी यस्तै रैछ
संसार साथी यस्तै रैछ ।

Post a Comment

0 Comments