परिचय


 परिचय कतिसम्म भएपछि त्यसले अपरिचिततालाई चिर्न सक्छ? औसतभन्दा बढी जानकारी हासिल गर्नु नै उक्त व्यक्ति वा विषयसँग परिचित हुनु हो ? के पूर्ण रूपमा केही वा कोहीसँग परिचित हुन सम्भव ? मैलै बुझेसम्म परिचय पूर्णतामा प्राप्य हुदैन। समय, सान्निध्य जानकारीसँगै कोही वा कसैसँगको अपरिचितताको दुरी घटाउन सम्भव होला तर पूर्ण रूपमा त्यसको बोध हुन सक्दैन। 

के हामी आफैसँग परिचित छौ ? हामीले जुन रूपमा आफूलाई चिनेका हुन्छौ त्यसको सम्पूर्ण  स्वरूप कोही दोस्रो व्यक्तिसँग उजागर भएका हुँदैनौ। अनि जुन स्वयं लाई हामीले आत्मसात् गरेका हुन्छौ  त्यो स्वयं को चिनारी परिवार मित्र जन तथा समाजमा नजरमा भिन्न रूपमा स्थापित भएको हुन सक्दछ। एउटै व्यक्तिले परिवारमा खराब पिता तर सामाजिक रूपमा समाजसेवी वा कार्यालयमा कुशल कर्मचारीको परिचय कमाएको पनि हुन सक्दछ। यस्तोमा उक्त एउटै व्यक्ति   विविध परिवेशमा भिन्न पहिचान भिरिरहेको हुन्छ। वास्तविक रूपमा उसलाई असल वा खराब व्यक्तिको पहिचान निर्धारण कुन रूपमा गर्न सकिन्छ। समय, परिवेश तथा पात्रहरू बदलिएसँगै व्यक्तिको पहिचान बदलिरहन्छ। भलो यसमै हुन सक्दछ कि कसैको पहिचान  निर्धारित गरेर त्यसमै भुली नरहौँ। हिजोका अंगुलिमालले आज वाल्मीकिको पहिचान आर्जन गरेका हुन सक्दछन् भने आजका सज्जन भोली पूर्ण  रूपमा परिवर्तन हुनु नौलो कुरा होइन। यिनैलाई मनन गर्दै आफैलाई नभुल्ने अनि आफ्नो परिचय नियाली रहने पथमा अघि बढौँ। आफूलाई चिनिसकेजस्तो लागे तापनि आफूलाई चिनिरहन नभुलौँ।

Post a Comment

0 Comments