आकाश टुक्रिरहोस्।
तिमि नफर्किनु अब। नयाँ गन्तव्य जुन पहिल्याएकी छौ हामीले तय गरेका क्षितिजभन्दा धेरै टाढा: निकै सुन्दर होओस्। तिमी भव्य भविष्यतर्फ अघि बढ्नु। सफलताका नवीन शिखरहरू चुमिरहनु। बस् म जुन पहाडमा विश्राम गरिरहेको हुनेछु त्यस पहाडबाट तिमी नदेखिइदिनु। तिमी र म एक अर्काका परिपूरक हौ म ठान्ने गर्दथे। म तिमीमा हराउँदै जान थालेको थिए। लागेको थियो कि एक अर्काका अस्तित्व "हामी" मा समाहित भएर त्यो "हाम्रो अस्तित्व" बढ्दै थियो हाम्रो साझा गन्तव्यतर्फ। के याद छ तिमिलाई अझै ? हामीले तय गरेका थियौ नि एकापसमा सम्मान मित्रता र अर्काको भावना बुझ्दै अघि बढ्नु नै हाम्रो प्रेम यात्रा हुनेछ। मनका सबै गह्रुङ्गा पोकाहरू एक अर्कामा खुलस्त बनाएर हलुका भई निस्फिक्री हाम्रो गन्तव्यतर्फ अघि बढ्दै छौ भन्ने मलाइ लागेको थियो। तिमी बेलाबेलामा सशङ्कित हुन्थ्यौ। म पनि कहिलेकाहीँ सोच्ने गर्दथे कि हामीले हाम्रो भविष्यका लागि सोच्दै गर्दा तिमीले मैले आआफ्नो भविष्यमाथि अन्याय त गरिरहेका छैनौ भन्ने। तर एक अर्काबिना हामी साथमा भएनौ भने झन् नराम्रो अवस्थामा नै पुग्ने निर्क्योलमा पुगेका थियौ। हामीले मुस्कुराउँदै बितायौ केही घमाइला दिनहरू। केही दिनहरूमा बादल मडारिए अनि एक अर्कासँग नबोली अस्पष्टता अन्योलमा बितायौ। केही दिनहरू बर्सातजस्तै पनि भए जसलाई क्रन्दनसहित बितायौ। तर यी सबैमा एक अर्काका साथमा सँगै थियौ।
समयको यो क्रम भङ्ग भइगयो। तिमीले अर्कै अध्याय सुरु गरिसकेछौ। म भने पुराना दिनहरूमा झैँ केही बादल लागेका दिनहरू पछिका दिनको प्रतीक्षामा थिए तर तिमी मसँगै एउटै आकाशमा रहिरहन नसक्ने निचोडमा पुगेको निर्णय सुनायौ। म तिम्रो साथमै उभिएर समस्या सुल्झाउन चाहन्थे तर तिमी अरू कोहीकै साथमा रहेर मलाइ निर्णय सुनाउने अवस्थामा रहेछौ। म थिए तिम्रो समाधान बन्न तिमीसँग जोडिन खोजेको मान्छे। तिमीले अरू कोहीसँग म बाट छुटकारा पाउन सहयोग लिन परोस् त्यति निरर्थक हाम्रो सम्बन्ध थिएन। कम्तीमा मेरा लागि।
योभन्दा केही समयअघि तिमीले मलाइ भनेकी थियौ" म अहिले केही असमञ्जस पूर्ण अवस्थामा आइपुगेको बुझेका छौ। म निस्फिक्री हुन चाहन्छु।" त्यस असमञ्जसपूर्ण अवस्था बुझेको थिए म त्यसको कारण थिइन अनि केही दिनमा तिमी आफै त्यसलाई पार लगाउनेछौ भन्ने विश्वास तिमीमाथि थियो पनि। म त्यस्तै चाहन्थे पनि कि तिमिलाई म साथमै छु भन्ने होस् तर तिम्रा पाइला तिमीले दह्रो गरी अघि बढाऊ। आफै निस्फिक्री रूपमा समस्यासँग जुध्ने आत्मविश्वास म तिमीमा प्रस्फुटित भएको हेर्न चाहन्थे। अनि तिम्रा स्वतन्त्र उडानहरूका बिचबिचमा तिमीमा नयाँ जोस जाँगर र हिम्मत भर्न चाहन्थे। तिमी बन्धनरहित आकाशमा डुबुल्की मार्नु हाम्रो आकासको नयाँ आयामहरू पहिल्याउनु अनि त्यस यात्रामा थाकेका बखतमा म तिम्रो विश्राम स्थल बन्न सकूँ।तिमी सँगै उडन चाहेका बखत एक अर्काका प्रेरक बनी हामीले हाम्रो आकाशका परिधि छिचोल्दै अघि बढ्ने चाहना थियो। तिमिलाई यही व्यक्त गरेको थिए। तर अफसोस यस्तो भयो कि तिमीले अब मसँग एउटै आकाशमा उड्नु छैन भन्ने कुरा सुनायौ। कहिल्यै हामी सँगै अघि बढ्ने नसोचेको र केही प्रसङ्ग बस् जोडिन पुगेको भन्यौ। आकाशमा बादल लागेका बखतमा बादल मेटिने आसा गर्न सकिन्छ र केहीका बलले त्यो बादल चिरिन सक्छ तर तिमीले त हावामा डुबुल्की मार्दै अर्कै रङ्गिन आकाश अँगालेको खबर पुर्यायौ। यस्तो बज्र प्रहार गर्यौ कि मेरा आकाशमा मेघ गर्जन उल्का पात भयो तर बर्सिन पाएन। त्यो मेरो आकाशको उज्यालो तिमीले अनेकौँ प्रश्न निराशा र अविश्वासका धब्बाहरूले गिजोलिदियौ। तिम्रो र मेरो अस्तित्व र परिवेश बदलियो। म मेरो भत्किएको आकाशको अवशेष स्याहार्न लागे। हावाले तिम्रो खबर मलाइ कहिल्यै सुनाएन। हाम्रा आकाशका भिन्नताहरू अब जुनसुकै बतासका बहावले पनि छिचोल्न सक्नेछैनन्।
म लाइ बर्सिने ठाउँसम्म मिलेको थिएन त्यस बज्रपातको समयमा यो खबर पुर्याउन नपाएकै जाती भयो तिम्रा नवीन रङ्गिन आकाशसम्म। समयसँगै बर्सिनुपर्ने केही नुनिला पानीहरू सितका थोपाहरूबाट धर्तीमा खसे अनि बल्ल मैले खुकुलो अनुभव गर्न पाए। मलाइ मेरा आकाशमा अब विश्वास पलाएको छ। मेरो आकाशको उज्यालो धमिलिए पनि एक दिन यही असमञ्जसपूर्ण आकाशमा पक्कै इन्द्रेणी पनि उदाउनेछ। अनि तिमीसँगका गुनासोहरू पनि अब रित्तिएका छन्। तिमीसँग वाकी एउटै अपेक्षा रहेको छ। आगामी दिनहरूमा हाम्रा आकाशहरू नमिलुन्। फेरी सपना भरिएका कपासहरू देखाइ मलाइ काला बादलले ढाक्न नआउनु। तिम्रो आकाश बृहत्तर फैलिइरहोस् तर तिम्रो र मेरो आकाश मिलाइ हाम्रो आकाशको मिराज कहिल्यै नबनाउनु। तिम्रो भूगोलको आकाश र मेरो भूगोलको आकाशले फरक फरक सूर्यको अंश पाओस्। आकाश टुक्रिरहोस्।

0 Comments