कति अपूर्णतामा छु ज्ञान छैन।
आफ्नो मनमा स्याबास छैन।
आफू हुनुमा आह्लाद छैन।
म पूर्ववत् छैन।
अपूर्णता कसरी छिचोल्ने प्रस्ट छैन।
गन्तव्यको चित्र दिमागमा छ।
यात्राको नक्सा साथमा छैन।
त्यो बाटोको दूरी थाहा छैन।
अनिश्चिततामा रुमल्लिने साहस छैन।
मेरा पाइला स्थिर हुदैछन्।
विचारहरू मनमा बुर्कुसी मार्दछन्।
चाहना अनुरूपको आफ्नै व्यवहार छैन।
परिस्थितिमा केही सुधार छैन।
मनमा आगतको उमङ्ग छैन।
विचार र व्यवहारमा सङ्गम छैन।
हिजोआज यस्तै अपूर्णताको माहात्म्य गाउँछु।
विवेकका पङ्क्तिहरू छरपस्ट खन्याउँछु।
परिस्थिति बदल्ने जाँगर कल्पन्छु।
पाइला चाल्नलाई साइत पर्खन्छु।
तर
अपूर्णताको यो बयान खल्लो पाउँछु।
आशा, उमङ्ग र उत्प्रेरणाको चास्नी मिसाउँछु।
केही ज्ञान टिपी आफैलाई पिलाउँछु।
झिल्कोले उज्यालो खोज्न सघाउने महत्ता बुझ्छु।
केही दिनका साइत छापिएको पात्रो डढाउँछु।
मनमा उमङ्ग भरी एक पाइला सपनातर्फ बढाउँछु।

0 Comments